प्रेश विज्ञप्ति (२०८३ जेठ २८)
सिर्सिया नदी करिडोरमा सञ्चालित उद्योगहरुबाट फोहोर पानी प्रशोधन नगरी वा मापदण्ड विपरीतको फोहोर पानी नदी, खोलामा सिधै विसर्जन गरी प्रदुषण गरेको सम्बन्धमा विभिन्न माध्यमबाट गुनासो तथा उजुरी प्राप्त भएको तथा सञ्चार माध्यममा समेत सो विषय प्रकाशित भएको विषयमा मन्त्रालयको ध्यानाकर्षण भएको छ।
प्रचलित औद्योगिक तथा वातावरणीय कानुन बमोजिम उद्योग दर्ता/ क्षमता वृद्धि तथा वातावरणीय अध्ययन प्रतिवेदन (IEE/EIA) स्वीकृत गर्दा उद्योगहरूले उत्पादन प्रक्रिया तथा अन्य गतिविधिबाट उत्पन्न हुने प्रदूषण र फोहोर पानीको व्यवस्थापनका लागि आवश्यक फोहोर पानी प्रशोधन प्रणाली (Effluent Treatment Plant-ETP) जडान गरी सञ्चालन गर्ने व्यवस्था रहेको छ । साथै स्वीकृत वातावरणीय अध्ययन प्रतिवेदन (IEE/EIA) मा उल्लेख भए अनुसारका वातावरणीय व्यवस्थापन योजना (Environmental Management Plan-EMP) अन्तर्गतका प्रदूषण न्यूनीकरणका उपायहरू (Mitigation Measures) को प्रभावकारी कार्यान्वयन गर्दै उद्योग सञ्चालन गर्न तथा नेपाल सरकारले निर्धारण गरेको Effluent Standard अनुरूप फोहोर पानी प्रशोधन गरी विसर्जन गर्नुपर्ने कानुनी व्यवस्थाको पूर्ण पालना सुनिश्चित गर्न समेत उद्योग विभागले सम्बन्धित उद्योगहरूलाई निर्देशन दिँदै आएको छ।
यस सन्दर्भमा नदी/खोला प्रदूषण गरिनु आधारभूत मानव स्वास्थ्यको दृष्टिले पनि गम्भीर सबालको रुपमा रहेको
छ । तसर्थ सम्पूर्ण उद्योग प्रतिष्ठानहरुले प्रचलित औद्योगिक तथा वातावरण सम्वन्धी कानुन र मापदण्डको पूर्ण परिपालना गरी उद्योग प्रतिष्ठान सञ्चालन गर्नुहुन सम्वन्धित सबैमा मन्त्रालय अनुरोध
गर्दछ । औद्योगिक तथा वातावरणीय मापदण्डको पूर्ण परिपालना नभएमा प्रचलित कानुन बमोजिम उद्योग विभाग र अन्य सम्बद्ध निकायहरुबाट कडा भन्दा कडा कारवाही हुने व्यहोरा समेत यसै विज्ञप्तिमार्फत जानकारी गराइन्छ ।
नेत्रप्रसाद सुवेदी
प्रवक्ता